काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रशासनको आदेश मानेर भृकुटीमण्डपको प्रदर्शन बल्खुमा सारेको भन्दै राप्रपाको शक्तिलाई कमजोर नठान्न आग्रह गरेका छन् ।
मंगलबार पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले राप्रपा आज बल्खु जाउ भन्यो हामी बल्खुमै आयौं भन्दैमा राप्रपाको शक्तिलाई कमजोर नठान्न आग्रह गरेका हुन् ।
उनले भने-“राप्रपा आज बल्खु जाउ भन्यो बल्खुमै आयो, अर्कोचोटि सिफल आउ भनौला, अर्कोचोटि कलंकी जाउ भनौंला यो नठान्नू, राप्रपा भाग्यो नठान्नू, शान्ति अहिंसाप्रतिको हाम्रो विश्वासलाई कमजोरी नठान्नु, हामी पछि हटेको होइन, याद गर्नु, आज देश दुनियाँले तपाईंको गणतन्त्र कति लुरे रहेछ, कति कमजोर रहेछ देख्न पाए, त्यही देखाउन हामी यहाँ आएका हौं ।”
लिङ्देनले भने- “राप्रपा जो राजनीतिक पार्टी हो, जसले मौका पर्यो भने राजा ल्याउँछु, हिन्दू राष्ट्र ल्याउँछु भनेर भोट मागेर देशको पाँचौ दल भएको पार्टी हो, उसलाई भृकुटीमण्डपमा आमसभा गर्न दिँदा ढल्ने तिम्रो गणतन्त्र कस्तो गणतन्त्र, कति कमजोर गणतन्त्र हो ।”


















