सरकारको विश्वास नभएको रित्तै घर फर्काउन खोजिरहेको शिक्षक महासंघको भनाइ 

काठमाडौं: आन्दोलित शिक्षकहरूका माग पूरा गर्न सरकार तयार भएको बताइरहे पनि नेपाल शिक्षक महासंघले भने विश्वास नरहेको बताएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षकका माग सम्बोधन गर्न भन्दै संसदको बर्खे अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो । त्यसका साथै माग पूरा गर्न प्रतिबद्ध रहेको बताउँदै शिक्षकलाई फर्किन आग्रह गरेको थियो । तर, सरकारको निर्णयप्रति शिक्षक आन्दोलनको नेतृत्व गरेको महासंघले भने अविश्वास गरेको छ ।

सरकारले आफूहरूलाई रित्तै घर फर्काउन खोजिरहेको महासंघकी सहअध्यक्ष एवं आन्दोलन परिचालन कमिटीको संयोजक नानुमाया पराजुलीको भनाई छ

उनले भनिन्- ‘ऐन जारी गर्ने भन्नुभयो तर गर्नुहुन्छ गर्नुहुन्न थाहाँ छैन’, विषयगत समितिको सभापति टुंगो लगाउन अझै डेढ महिना लाग्छ भन्नुहुन्छ’, सरकार ठिक्क पारेर अधिवेशन बोलाउने तर यो अधिवेशनना पेस हुन्छ भन्ने ग्यारेन्टी छैन ।’

उनले अहिले नै विश्वास गर्ने आधार नभएको भन्दै सरकारको निर्णयबारे महासंघले आधिकारिक धारणा सार्वजनिक गर्ने बताइन् । तर, सरकारको विश्वास गर्ने आधार नरहेको उनले बताइन् । उनले सरकार जिम्मेवार नभएको तर आफुहरुले सडकमा नारा जुलुस लगाएका कारण मात्र सरकारलाई ऐन चाहिएको बताइन् ।

शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू शैक्षिक हड्तार गरेर दुई सातादेखि काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका छन् ।