मिडिया एक्सन नेपालले सार्वजनिक गर्यो, प्रेस स्वतन्त्रता उल्लंघन घटना सम्बन्धी वार्षिक प्रतिवेदन

काठमाडौं: विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को पूर्व सन्ध्यामा मिडिया एक्सन नेपालले “त्रासदेखि दण्डहीनतासम्म: नेपालमा मिडियामाथि बढ्दो खतरा” शीर्षकको वार्षिक प्रेस स्वतन्त्रता प्रतिवेदन सार्वजनिक गरेको छ ।

मिडिया एक्सन नेपालले आज काठमाडौं एक कार्यक्रम  आयोजना गरी वार्षिक प्रेस स्वतन्त्रता प्रतिवेदन सार्वजनिक गरेको हो ।

मिडिया एक्सनले सार्वजनिक गरेको प्रतिवेदनमा मे ४, २०२४ देखि मे १, २०२५ सम्मको अवधिमा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता माथिका उल्लंघनहरू समेटिएका छन्।

प्रतिवेदन मिडिया एक्सन नेपालका संस्थापक तथा कार्यकारी निर्देशक लक्ष्मणदत्त पन्त, राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेश आचार्य, नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा र मिडिया एक्सन नेपालकी अध्यक्ष प्रियंका झाद्वारा संयुक्त रूपमा सार्वजनिक गरिएको हो ।

प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै मिडिया एक्सन नेपालका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक लक्ष्मणदत्त पन्तले भने- “यस वर्षको प्रतिवेदनले नेपालको मिडिया तथा अभिव्यक्ति स्वतन्त्रताको परिदृश्यमा गहिरिंदो संकट र चिन्ताजनक अवस्था उजागर गरेको छ।” साथै उनले प्रतिवेदनले पत्रकारहरूलाई लक्षित गर्दै भइरहेका धम्की र आक्रमणहरूबारे गम्भीर तस्वीर प्रस्तुत गरेको पनि बताए ।

यस्ता उल्लंघनले केवल पत्रकारहरूको सुरक्षामा खतराको संकेत मात्र गर्दैन, लोकतन्त्रको आधारभूत संरचनालाई नै कमजोर बनाउँदछ ।” पन्तले भने ।

यसैगरी, कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेश आचार्यले संचार गृहले आफ्नो स्वार्थका लागि पत्रकारको गलत प्रयोग गरेको औलाए । उनले संचार गृहले आफ्नो स्वार्थ प्रयोजनका लागि पत्रकार कसरी प्रयोग भएका छ्न्, त्यो पनि हेर्न आवश्यक भएको बताए । साथै, उनले पत्रकारको सुरक्षाको विषयमा पत्रकार नभएर असुरक्षित भएको हो वा पत्रकार भएर असुरक्षित भएको भन्ने विषय छुट्याउन आवश्यक भएको औलाए ।

त्यस्तै, नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले गत वर्षको तुलनामा यो वर्ष प्रेस स्वतन्त्रताको घटना बढेको बताइन् । उनले गत वर्ष ६२ वटा प्रेस स्वतन्त्रताको हनन् का घटना भएकोमा यो वर्ष ७३ वटा यता घटना भएको जानकारी दिएन् । उनले यस्ता घटना बाग्मती प्रदेश र मधेस प्रदेशमा बढी देखिएको बताइन । साथै, १६ वटा पेशागत असुरक्षाका घटना महासंघमा दर्ता भएको पनि जानकारी गराइन् ।

मिडिया एक्सन नेपालका अनुसार यस वर्ष ३२ वटा प्रेस र अभिव्यक्ति स्वतन्त्रता उल्लंघनका घटना प्रलेखिकरण भएका छन्, जसले ४० जना व्यक्ति र सञ्चार गृहलाई प्रभावित पारेका छन्। तीमध्ये २ जना पत्रकार सुरेश भुल र सुरेश रजकको हत्या, ६ जनासहितको ३ जना पत्रकारको गिरफ्तारी (संस्कृति रिपोर्टिङ र अदालतको अवहेलनासम्बन्धी), ३ वटा सूचनाको अवरोध, २ वटा उपकरण नियन्त्रणमा लिने घटना, र २४ जना पत्रकार र मिडिया संस्थालाई लक्षित गर्दै गरिएका २२ वटा धम्की र त्रासका घटनाहरू रहेका छन्।

प्रतिवेदनमा राज्य तथा गैर-राज्य पक्षबाट भएका उल्लंघनहरू स्पष्ट रूपमा उल्लेख गरिएको छ। १६ वटा घटना सरकारी निकायसँग, १ विदेशी दूतसँग, र २३ वटा गैर-राज्य पक्षसँग सम्बन्धित रहेका छन्। पत्रकार सुरेश रजकको २०२५ मार्च २८ मा भएको राजसंस्था समर्थक प्रदर्शनको क्रममा हत्या, र पत्रकार गजेन्द्र बुढाथोकीलाई भ्रष्टाचार रिपोर्टिङको कारण चिनियाँ दूत चेन् सोंगबाट धम्की दिइएको घटना विशिष्ट रूपमा उजागर गरिएको छ।

प्रभावितमध्ये महिला पत्रकार सबिना कार्की प्रहरीद्वारा प्रयोग गरिएको पानीको फोहराबाट घाइते भएकी थिइन्, जसले पत्रकारितामा महिला पत्रकारहरूलाई पर्ने विशिष्ट जोखिमलाई पनि प्रस्ट पारेको छ।

त्यस्तै,कान्तिपुर टेलिभिजन, अन्नपूर्ण पोस्ट र समाधान दैनिक जस्ता प्रमुख मिडिया संस्थाहरू आक्रमणको शिकार हुदैँ अवरोध र प्रतिशोधबाट अछुतो नरहेको प्रतिवेदनले देखाएको छ।

प्रतिवेदन सार्वजनिक कार्यक्रममा ‘कृत्रिम बौद्धिकता (एआई) र प्रेस स्वतन्त्रतामाथिको प्रभाव’ शीर्षकमा आयोजित अन्तरक्रियात्मक छलफलमा पत्रकार, मिडिया तथा कानुनी विज्ञहरू सहभागी भई, एआईको सम्भाव्यता र चुनौतीबारे बहस समेत गरिएको थियो ।