स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरिने

काठमाडौं: स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरिने भएको छ ।

शुक्रबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आव २०८२/०८३ को लागि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

बीमालाई दिगो बनाउन पुनर्संरचना गरिने भएको हो । ‘बीमालाई पुनर्संरचना गरिनेछ, यसलाई दिगो बनाइनेछ’, राष्ट्रपति पौडेलले भने।

यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न १६ वटा बुँदामा प्रस्ताव गरेको थियो । जसमा बीमालाई पाँच वर्षभित्र सबै नागरिकलाई अनिवार्य गरिने बताइएको थियो । यसैगरी सातै प्रदेशमा मुटुरोग उपचार सेवा विस्तार तथा सातै प्रदेशमा क्यान्सररोग विशेषज्ञ सेवा प्रदान गर्ने व्यवस्था मिलाउने प्रस्ताव पनि मन्त्रालयले गरेको थियो ।

२० प्रतिशतका दरले पाँच वर्षभित्र अस्पतालहरूमा जनशक्ति पूर्ति गर्दै लगिने मन्त्रालयले प्रस्ताव गरेको थियो ।