काठमाडौं: काठमाडौं महानगरपालिकाका निलम्बित नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि छानबिन गर्न समिति गठन गरिएको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेका हुन् ।
“राजु पाण्डेमाथि छानबिन गरी सत्यतथ्य पत्ता लगाउन समिति गठन गरिएको महानगरका एक उच्च अधिकारीले जनाए ।
काफ्ले महानगरका सहायक प्रवक्ता पनि हुन् । उनले समितिबारे अनौपचारिक जानकारी पाए पनि अहिलेसम्म चिठी नपाएको बताए ।
महानगर प्रहरी ऐन, २०८० को दफा ३९ को उपदफा ४ बमोजिम जाँचबुझ समिति गठन गरिएको प्रमुख प्रशासकीय अधिकृत निकट स्रोत बताउँछ ।
०८१ चैत २१ गते महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउने प्रयास गरेपछि नगरप्रहरी प्रमुख पाण्डेलाई स्पष्टीकरण सोधिएको थियो । पाण्डेले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नरहेको भन्दै उनलाई ६ महिनाका लागि निलम्बन गरिएको छ ।


















