काठमाडौं: देशका विभिन्न भूभागमा आज बिहानैबाट वर्षा सुरु भएको छ ।
दिउँसो पनि देशका धेरै भूभागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।
कोसी, मधेस, वागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
मौसमविद्का अनुसार, छोटो समयमा ठूलो पानी पर्ने सम्भावना उच्च हुँदा सतर्क रहन जरुरी छ ।
त्यस्तै, कोसी, मधेस, वाग्मतीका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, हाल कोसी, मधेस, वाग्मती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव छ । देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।


















