पाँच हाइड्रोपावर कम्पनीको लकइन अवधि असार महिनाभित्रै समाप्त हुँदै

काठमाडौं: एक महिनाभित्र ५ वटा हाइड्रोपावर कम्पनीको संस्थापक, आयोजना प्रभावित स्थानीय तथा कर्मचारीको सेयरमा लकइन अवधि सकिने भएको छ ।

लकइन अवधि सकिएको भोलिपल्टबाट यी सेयर साधारणसरह, उहीं मूल्यमा कारोबारमा आउँछन् । जसले गर्दा सेयर संख्या बढ्न गई मूल्य घट्ने जोखिम रहन्छ । यहीं जोखिमलाई मध्यनजर गर्दै नियामक धितोपत्र बोर्डको निर्देशनपछि कम्पनीहरूले एक महिना पहिले नै सार्वजनिक सूचनामार्फत जानकारी दिँदै आएका छन् ।

५ कम्पनी विन्ध्यबासिनी हाइड्रोपावर, दोर्दीखोला जलविद्युत् कम्पनी, हिमालयन हाइड्रोपावर, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी र अपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयरमा असार महिनाभित्रै लकइन अवधि सकिन लागेको हो ।

विन्ध्यबासिनी हाइड्रोपावरको संस्थापक, कर्मचारी र स्थानीय प्रभावितको गरी कुल ९६ लाख ७१ हजार ८८ कित्ता सेयरमा आज सोमबार (असार २) बाट लकइन अवधि समाप्त हुने भएको छ ।

त्यस्तै दोर्दीखोला जलविद्युत् कम्पनीको संस्थापक, स्थानीय प्रभवित र कर्मचारीको गरी कुल ८४ लाख १२ हजार ९६० कित्ता सेयरमा असार ७ गते लकइन अवधि सकिने भएको छ ।

हिमालयन हाइड्रोपावर कम्पनीको संस्थापक, आयोजना प्रभावित र कर्मचारीको गरी कुल ९० लाख २१ हजार ११५ कित्ता सेयरमा असार २७ गते लकइन अवधि सकिँदैछ ।
अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको कुल १ करोड १५ लाख ८१ हजार ६५० कित्ता सेयरमा असार २९ गतेदेखि लकइन अवधि सकिने भएको छ ।

अपर हेवाखोला हाइड्रोपावर कम्पनीको संस्थापक सेयर, कर्मचारी र स्थानीयबासीको गरी कुल ३५ लाख कित्ता सेयरमा असार ३१ गते लकइन अवधि सकिने भएको छ ।