काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भेटिएको ग्याँस एक वर्षभित्रै उपयोगमा ल्याउने गरी छिटो परीक्षण उत्पादन सुरु गर्न निर्देशन दिएका छन् ।
दैलेखमा भेटिएको ग्याँसका विषयमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीहरुसँग ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
त्यसका लागि आवश्यक बजेट र सहजीकरणमा सरकारबाट कमी नहुने बचन पनि प्रधानमन्त्री ओलीले दिएका छन् ।
चीनको सहयोगमा गरिएको अन्वेषणले दैलेखमा कम्तिमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस भएको पुष्टि भएको थियो ।
दैलेखको भैरवी गाउँपालिकाको जलजलेमा ड्रिल गरेर अन्वेषण गर्दा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस भएको पत्ता लागेको प्रारम्भिक प्रतिवेदन चाइना जियोलोजिकल सर्भेले उद्योग मन्त्रालयलाई दिएको थियो ।


















