काठमाडौं: अब आमाको नामबाट पनि नेपाली नागरिकता लिन सकिने कानुनी व्यवस्था कार्यान्वयनमा आएको छ।
लामो समयदेखि रोकिएको आमाको नामबाट वंशज नागरिकता दिने प्रक्रिया सर्वोच्च अदालतको आदेशपछि पुनः सुरु गरिएको हो।
गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई आमाको नामबाट वंशज नागरिकता दिन निर्देशन दिएको छ। यसअघि बाबुको नागरिकता नभए वंशज नागरिकता नदिइने प्रचलन थियो, जसले हजारौं नागरिकहरूलाई प्रभावित बनाएको थियो।
नागरिकता सम्बन्धी संशोधित ऐनअनुसार, बाबु अनुपस्थित वा अज्ञात भएमा आमाको नागरिकता प्रमाणका आधारमा छोराछोरीले वंशज नागरिकता लिन पाउने व्यवस्था छ। तर यो प्रावधान कार्यान्वयन नहुँदा धेरै युवाहरू शिक्षादेखि रोजगारीसम्मका अवसरबाट बञ्चित थिए।
सर्वोच्च अदालतले हालै एक फैसला सुनाउँदै नागरिकताको हक सुनिश्चित गर्न सरकारलाई आदेश दिएको थियो। त्यसपछि गृह मन्त्रालयले नयाँ परिपत्र जारी गर्दै आमाको नामबाट नागरिकता दिने प्रक्रिया सुरु गर्न प्रशासनहरूलाई निर्देशन दिएको छ ।
मानवअधिकारकर्मी र नागरिक समाजका अगुवाहरूले यो निर्णयलाई ऐतिहासिक र न्यायपूर्ण कदममा रुपमा लिएका छन् । उनीहरुले यो कदमले विशेषगरी एकल आमाबाट हुर्किएका बालबालिका र बाबुको पहिचान नखुलेका हजारौं युवाहरूलाई राहत दिने बिश्वास व्यक्त गरेका छन् ।
अब नागरिकता लिन आमाको नागरिकता प्रमाण पत्र, जन्म प्रमाणपत्र तथा आवश्यक कागजातहरू लिएर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सकिनेछ।


















