पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण दुई वर्ष अघि नै भइसक्यो: सुरेन्द्र पाण्डे

काठमाडौं: नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण दुई वर्ष पहिला नै भइसकेको बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र भण्डारीबीचको भेटवार्ताका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले एक वर्ष पहिलाको सचिवालय बैठकमा पार्टी महासचिव शंकर पोखरेलले सदस्यता नवीकरण भइसकेको उल्लेख गरे ।

पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले यसबारे आफूले छुट्टै भेट गरेर छलफल पछि निष्कर्ष निकाल्ने बताएको पाण्डेले बताए।

उनले भने- ‘अध्यक्षले बैठकको अन्त्यमा यसको बारेमा उहाँसहित बसेर हामी टुंगो गर्छौं भन्नुभएको हो। यो बैठकको विषय होइन भनेर भन्नुभएको थियो। उहाँको सदस्यता, उहाँको पार्टीमा आउने कुरा, राजनीतिक बारेमा म बसेर छलफल गर्छु भन्नुभएको हो। दुई वर्षअघि नै नवीकरण गरेँ भन्नुभएको छ। १ वर्षअघि नै महासचिवले सचिवालय बैठकमा नविकरण भएको भन्नुभएको थियो। अध्यक्षज्यूले पनि यसमा सहमति गर्नुभएको थियो।’

उपाध्यक्ष पाण्डेले पार्टी सदस्यता नवीकरण पहिला नै भएको विषय रहेको बताए ।