सोमबार पशुपतिनाथ मन्दिर दर्शन गर्न आउनेलाई निःशुल्क यातायात सुविधा

काठमाडौं: यस वर्षको साउने सोमबारका दिन पशुपतिनाथ दर्शनमा आउनेले निःशुल्क यातायात सुविधा पाउने भएका छन्।

धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) का नवनिर्वाचित पदाधिकारी एवं कार्यसमिति सदस्यहरूसँग आज यहाँ भएको अन्तरक्रियामा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सुवासचन्द्र जोशीले निःशुल्क बस सेवा दिइने बताएका हुन्।

धर्म, संस्कृतिसँग सम्बन्धित संस्था र यातायात व्यवसायीको सहयोगमा साउन ५ गते पहिलो सोमबारदेखि यस्तो सुविधा दिन लागिएको उनले जानकारी दिए।

यसैगरी,सोमबारदेखि चारवटा सार्वजनिक बसले चक्रपथ घुमेर पशुपतिनाथ आउने दर्शनार्थीलाई निःशुल्क सेवा दिनेछन्। यसमध्ये दुईवटा बस गीता प्रेसको नेपालस्थित बुक डिपोले व्यवस्था गरेको र दुईवटा बस यातायात व्यवसायी उच्च राष्ट्रिय महासङ्घले गरेको छ ।

पशुपतिनाथ दर्शनमा आउने भक्तजनका लागि निःशुल्क बस सेवा दिइएको यो पहिलोपटक हो। बिहान ४ः०० बजेदेखि नै भक्तजनलाई निःशुल्क बस सेवा दिइनेछ। साउने सोमबारका अवसरमा साउन ५ गते सोमबार बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिने छ्न् ।

त्यस्तै, मूल मन्दिरमा भीड नहुने गरी कोषले यस वर्षको साउने सोमबारको दर्शनको व्यवस्था मिलाइने जनाएको छ। भक्तजनलाई लाइनमा बसेको एक घण्टामा दर्शन गरेर फर्कन सक्नेगरी व्यवस्था मिलाइएको कोषले जनाएको छ।

नेपाली सेनाको कल्याणकारी कोषले घामपानीबाट बच्न मूल मन्दिर बाहिरको भागमा ‘टेन्ट’ राख्ने छ। साउने सोमबारको सुव्यवस्थाका लागि कोषले सञ्चालक परिषद् सदस्यलाई पनि बिहान ३ः०० बजेदेखि नै परिचालन गर्नेछ।

त्यस अवसरमा कोषले पशुपतिनाथ मन्दिरमा सात हजार ५०० भन्दा माथिका मात्र विशेष पूजा गर्ने जनाएको छ।

साउने सोमबारका अवसरमा पशुपति क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर, पानी एवं प्रसाद वितरणको व्यवस्था मिलाइएको छ।

मन्दिर परिसरको सुरक्षाका लागि प्रहरी वृत्त गौशालालाई जिम्मा दिइएको छ।