काठमाडौं: एक वर्ष पूरा गरेको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पत्रकार सम्मेलन गरेका छन्। उनले पत्रकार सम्मेलनमा विगत एक वर्षभित्रका उपलब्धिहरू र आगामी योजनाहरू सार्वजनिक गरेका हुन्।
मन्त्री पौडेलका अनुसार, मन्त्रालयको जिम्मेवारी सम्हाल्दा आर्थिक वर्ष २०८१/०८२ का नीति तथा कार्यक्रम तथा बजेट पहिल्यै तय भइसकेको हुँदा नयाँ योजनाहरू ल्याउने अवसर सीमित थियो। तथापि, विनियोजित बजेट भित्र रहेर पनि स्वास्थ्य सेवा प्रभावकारी बनाउने, दीर्घकालीन सुधारको मार्गचित्र कोर्ने र नागरिकलाई लक्षित सेवा प्रवाहमा केन्द्रित हुने उद्देश्यसहित मन्त्रालयले कार्य अघि बढाएको उल्लेख गरेका छन् ।
मन्त्रालयले गत २०८१ सालको श्रावण २७ गते सार्वजनिक गरेको विस्तृत कार्ययोजनाका आधारमा प्राथमिकताका क्षेत्रहरू निर्धारण गरेको थियो। बजेटको सीमितताका बाबजुद विभिन्न दातृ निकाय र विकास साझेदारसँग समन्वय गरी अतिरिक्त स्रोत जुटाउन सफल भएको मन्त्रालयले जनाएको छ। मन्त्री पौडेलले भने, ‘हाम्रो एक मात्र ध्येय सबै नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु र जनसंख्या व्यवस्थापनमा सशक्त भूमिका खेल्नु हो।’
गत वर्ष थालिएका कतिपय योजनाले नागरिकको दैनिक जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको उनको दाबी छ। स्वास्थ्य पूर्वाधारको सुदृढीकरण, औषधि आपूर्ति प्रणालीमा सुधार, मातृ तथा शिशु स्वास्थ्यमा लक्षित कार्यक्रम, दूरदराजका बासिन्दाका लागि मोबाइल स्वास्थ्य सेवा, र प्रविधिमार्फत सेवा पहुँच विस्तारका केही मुख्य पहलहरू रहेका छन्।
आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि मन्त्रालयले ती दीर्घकालीन सोच भएका योजनाहरूलाई निरन्तरता दिने र स्वास्थ्य तथा जनसंख्यामा सन्तुलन ल्याउने दीर्घकालीन दृष्टिकोणमा आधारित नयाँ कार्यक्रमहरू समेत अगाडि बढाउने बताएका छ्न् ।



















