काठमाडौं: स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएकामध्ये कडा रोग लागेका आठ प्रकारका रोगको उपचारमा दोब्बर खर्च पाउने विषयलाई एक वर्षे उपलब्धिका रूपमा राखेका छन् ।
सोमबार आफ्नो एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गर्दै त्यस्ता बिरामीलाई दुई लाख रुपैयाँ उपचार खर्चको व्यवस्था उपलब्धिको रूपमा रहेको बताए ।
क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले स्वास्थ्य बिमाको साविक एक लाख र थप एक लाख गरी दुई लाखसम्मको उपचार सेवा पाउने स्पष्ट पारेका हुन् ।
उनले भने- “कति जनतामा कडा प्रकारका रोगको उपचारका लागि तीन लाखको स्वास्थ्य बिमा भनिएको छ, त्यो होइन । स्वास्थ्य बिमाबाट प्राप्त हुने एक लाख र अर्को थप एक लाख गरी दुई लाखको उपचार सुविधा पाउने हो ”।
यसैगरी, स्वास्थ्य बिमाप्रति आमनागरिकको गुम्दै गएको अवस्थामा यसप्रति आशा जगाएको उनले बताए । त्यसक्रममा उनले आफ्नो एकवर्षे कार्यकालमा सरकारी अस्पतालहरूले दिने सेवा सुधार गर्न नसकिएको पनि स्वीकार गरेका छन् ।
“सरकारी अस्पतालप्रति जनताको विश्वास छ । त्यसलाई भिड भन्ने गरिएको छ । धेरै कुरा सुधार भएका छन् । तर, अस्पतालमै सेवा व्यवस्थित गरियो भने मात्रै जनतालाई अनुभूति हुने रहेछ । अनुभूति गराउन समय लाग्ने मन्त्री पौडेलले बताए ।
त्यस्तै, सरकारसँग मिलेर समाधान गर्नुपर्ने विषयमा डाक्टरहरू उल्टै आन्दोलनमा गएको उनले बताए । “सरकारसँग मिलेर जानुपर्ने विषयमा पनि डाक्टरहरू आन्दोलनमा जानुहुन्छ । डाक्टरका समस्याहरू पनि छन् । तर, जनताको समस्याप्रति गम्भीर हुनुपर्छ । कुन बिरामी अपरेसनको मिति लिएर अस्पताल गएको हुन्छ, डाक्टर आन्दोलनमा हुन्छन्,” उनले भने ।
मन्त्रालयले आशा जगाउने काम गरेको उनको दाबी छ । मन्त्री पौडेलले भने, “उपकरण खरिद गर्ने, स्वास्थ्य क्षेत्रको सुधार र अस्पतालको क्षमता वृद्धि गर्न लागि परेका छौँ । दुर्गममा डाक्टरहरू पठाउनका लागि अनुनय विनय गरिरहेका छौँ ।”
अस्पतालमा बिमा रकमबाट दिइने उपचारमा झन्झट हुने, दृष्टिविहीन बिरामीलाई अस्पताल भर्ना लिन नचाहेको लगायतका गुनासोहरू सुन्नका लागि ‘हेल्लो स्वास्थ्य’ १११५ को व्यवस्था गरेको पनि मन्त्रीले बताए ।
स्वास्थ्य सम्बन्धी विभिन्न ऐन कार्यान्वयनमा ल्याएको पनि मन्त्री पौडेलले बताए । “समग्र स्वास्थ्य क्षेत्रमा बजेटको सुनिश्चितता गरी अगाडि बढेका छौँ । प्रत्यक्ष रूपमा जनतालाई अनुभूति नभए पनि थुप्रै कामहरू भएका छन्,” उनले भने ।


















