काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजाअनुसार नियमिततर्फ ६१.१७ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन् भने ३८.८३ प्रतिशत विद्यार्थी नन ग्रेडेड (अनुत्तीर्ण) भएका छन्।
बोर्डका अनुसार, गत वर्षको तुलनामा यस वर्ष नतिजामा ९ प्रतिशतले सुधार आएको छ। गत वर्ष नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी ग्रेडेड र ४७.०९ प्रतिशत नन ग्रेडेड थिए।
पाँच लाख १० हजार ९८७ जना सहभागी
यो वर्ष कक्षा १२ को परीक्षा गत वैशाख २१ गतेदेखि सञ्चालन भएको थियो। परीक्षामा देशभरिबाट जम्मा पाँच लाख १० हजार ९८७ विद्यार्थी सहभागी भएका थिए।
राष्ट्रिय परीक्षा बोर्डद्वारा सार्वजनिक विवरणअनुसार, विद्यार्थीहरूले ल्याएको जीपीए (GPA) अनुसार संख्या निम्नानुसार रहेको छः
१.६१ – २.०० जीपीए: २३ जना
२.०१ – २.४० जीपीए: ८,९६४ जना
२.४१ – २.८० जीपीए : ६९,८१२ जना
२.८१ – ३.२० जीपीए : ९४,२६८ जना (सबैभन्दा बढी)
३.२१ – ३.६० जीपीए : ५५,८९६ जना
३.६१ – ४.०० जीपीए : १३,५०२ जना
परीक्षा रद्द
यस वर्ष कक्षा १२ को परीक्षा दिएका १७ विद्यार्थीको नतिजा रद्द गरिएको छ। तीमध्ये ११ जना नियमित र ६ जना आंशिकतर्फका विद्यार्थी रहेको बोर्डको भनाइ छ ।
ग्रेडवृद्धि परीक्षा भदौ २८ र २९ मा
बोर्डले पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी भदौ २८ र २९ गते हुने जानकारी समेत दिएको छ। ग्रेडमा सुधार गर्न चाहने विद्यार्थीहरूका लागि यो अवसर खुला गरिएको हो।


















