काठमाडौं: मेडिकल व्यवसायी दुर्गा प्रसाईं उच्च अदालत पाटनको आदेशपछि सोमबार साँझ धरौटी बुझाएर डिल्लीबजार कारागार फर्किएका छन्।
उनलाई स्वागत गर्न नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा कारागार पुगेका छन्।
प्रसाईं केही समयअघि मात्र डिल्लीबजारस्थित कारागार पुगेका हुन्। हाल कारागार प्रशासनले धरौटी बुझाएपछिको बाँकी कानुनी प्रक्रिया पूरा गरिरहेको छ।
उच्च अदालत पाटनले प्रसाईंलाई दुई फरक मुद्दामा धरौटीमा छोड्ने आदेश दिएको थियो। १५ चैतमा भएको राजावादी आन्दोलनसँग सम्बन्धित मुद्दा र बैंकिङ कसुरसम्बन्धी मुद्दामा उनी धरौटीमा छुटेका हुन्।
कति धरौटी बुझाए प्रसाईंले?
बैंकिङ कसुर मामिलामा उच्च अदालत, पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले उनलाई २५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो।
राजावादी आन्दोलन मामिलामा उच्च अदालतका न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो।
यसअनुसार, दुर्गा प्रसाईंले कूल २८ लाख रुपैयाँ धरौटी बुझाएर सोमबार साँझ डिल्लीबजार कारागारमा उपस्थित भएका हुन्।



















