मतदाता नामावली संकलनका लागि निर्वाचन आयोगले गर्‍यो कानुन संशोधनको प्रस्ताव#

काठमाडौं: निर्वाचन आयोगले मतदाता नामावली संकलन खोल्न कानुन संशोधनका लागि सरकारलाई प्रस्ताव गरेको छ ।

आयोग पदाधिकारीहरुको आइतबारको बैठकले मतदाता नामावली ऐन संशोधनका लागि गृह मन्त्रालयमा प्रस्ताव पठाएका हुन् ।

मन्त्रिपरिषद् को बैठकले यो ऐनलाई अध्यादेश मार्फत् संशोधन गर्ने सम्भावना रहेको छ ।

निर्वाचन आयोगका अनुसार मतदाता नामावली ऐनको दफा ४ को संशोधन गर्न लागिएको हो । जस अनुसार अब आयोगले चाहेको अवस्थामा मतदाता नामावली खोलाउन सक्ने छ भन्न प्रावधान राखिने छ ।

विद्यमान ऐनमा चुनावको मिति घोषणा भइसकेपछि मतदाता नामावली संकलन गर्न नमिल्ने व्यवस्था छ ।

यो व्यवस्थाअनुसार अब मतदाता नामावली संकलन गर्न मिल्दैनथ्यो । १८ वर्ष उमेर पुगेका धेरै युवाहरुको नाम छुट्ने भएकाले अहिले पुन मतदाता नामावली संकलन गर्नु पर्ने दबाब थियो । त्यसका लागि सहजीकरण गर्नका लागि नामावली संकलन गर्न लागिएको हो ।

विदेशमा रहेका नेपालीहरूलाई पनि मतदानमा संलग्न गराउने बारे पनि अहिले बहस सुरु भएको छ । तर उनीहरुलाई कसरी कुन विधिबाट समावेश गर्ने भन्नेबारे पनि आयोगले विज्ञहरुसँग छलफल थालेको छ ।