काठमाडौं: महान्यायाधिवक्ता सरिता भण्डारी बरालले जेनजी आन्दोलनले देशमा परिवर्तन ल्याएको बताएकी छन् ।
आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले जेनजीहरुले बलिदानीका कारण परिवर्तन आएको बताएकी हुन् ।
उनले भ्रष्टाचारविरुद्ध आन्दोलनमा उत्रेका युवाहरूले गोली खानुपरेको पनि बताइन् ।
उनले जेनजी पुस्ताले व्यक्तिगत स्वार्थका लागि नभई देश र समाजमा सुशासन स्थापित होस् भन्ने उद्देश्यले आन्दोलन गरेको बताइन् ।
आन्दोलनमा सहभागी युवाहरूले जागिर पाउन आफ्नो ‘मान्छे खोज्न नपरोस्’, योग्यताको कदर होस् र बिदेसिनुपर्ने बाध्यता अन्त्य होस् भन्ने माग राखेको उनको भनाइ छ ।
उनले जेनजीहरुले आन्दोलन गरेपनि पदमा भने आफूहरू पुगेको बताइन् । जेनजी पुस्तालाई पदमा पुग्न रहर नभएको पनि उनले दाबी गरिन् ।
उनले भनिन्- “भ्रष्टाचारको अन्त्य होस् माग्दा गोली खाए र गोली खाएपछि नयाँ परिवर्तन आएको छ । त्यसैले म हरेक अभिभावकलाई छातीमा हात राखेर भन्नुस्, म अनुरोध गर्छु । के ती बच्चाहरूले आफ्ना लागी आन्दोलन गरेका थिए त ? होइन, देशका लागी आन्दोलन गरेका थिए । उनीहरूलाई केही चाहिएकै थिएन । उनीहरुले खाली हामी विदेश जान नपरोस्, हामीले हाम्रो मान्छे भनेर खोजेर जागिर खान नपरोस्, योग्यताको कदर होस् । भन्ने किसिमले माग गरेका आएका थिए ।”
उनले आन्दोलनका क्रममा जेनजीहरुले सार्वजनिक सम्पत्ति नजलाएको पनि दाबी गरिन् । जेनजीहरुको सार्वजनिक सम्पत्तिमा क्षति गर्छन् भन्ने सोच्न समेत नसकिने बताइन् ।
उनले जेल ब्रेक भएपछि त्यहाँबाट भागेर आएका कैदीहरूले सरकारी वकिल कार्यालय र अदालतमा आक्रमण गरेको उनले दाबी गरिन् ।


















