दसैँमा खाद्यले खसीबोका नबेच्ने, अनलाइन मार्फत ‘अर्डर’ गर्नेको फिर्ता गरिने

काठमाडौं: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दसैँमा खसी, बोका र च्यांग्रा बिक्री नगर्ने भएको छ ।

भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका कारण आपूर्ति व्यवस्था अन्योलमा परेपछि कम्पनीले बिक्री नहुने जनाएको हो ।

साथै अनलाइनबाट अर्डर गर्नेहरूका पैसा भने फिर्ता गरिने भएको छ ।

वेबसाइट लन्च गर्ने बित्तिकै ३० वटा अर्डर भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका बिक्री वितरण विभागले बताएको छ । अर्डर गर्नेहरूको पैसा आजैबाट सोही खातामा पठाउने निर्णय भएको विभागले जनाएको छ ।

जेनजीको प्रदर्शन र सडक अवरोधका कारण यस वर्ष खसी, बोका र च्यांग्रा ल्याउन नसकेको विभाले जनाएको छ ।

कम्पनीले यसअघि करिब एक हजार ५०० खसीबोका र ३०० च्यांग्रा आपूर्ति गरी सुपथ मूल्यमा बिक्री गर्ने तयारी गरेको थियो । तर, अशान्त परिस्थिति र यातायात सहज नहुन सक्ने जोखिमका कारण बिक्री नगर्ने निर्णय लिएको हो ।