काठमाडौं: नेपाल पर्यटन बोर्डले ‘जेनजी’ आन्दोलनले देशमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।
बोर्डले आन्दोलनमा गरिएको तोडफोड, आगजनी र लुटपाटको घटनाले पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको हो ।
विश्व पर्यटन दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले आन्दोलनका कारण तुलनात्मक रूपमा पर्यटकको आगमनमा ४५ प्रतिशतले कमी आएको तथ्यांक सार्वजनिक गरे ।
उनले गत वर्ष असोजको पहिलो सात पर्यटकको संख्या ३३/३४ सय भएको जानकारी दिए । यो वर्ष जेनजी आन्दोलनका कारण त्यो संख्या घटेर १६ सयमा झरेको उनले उल्लेख गरे । साथै अब थप अरू दुर्घटना नभए त्यसमा सुधार आउने बोर्डको आकलन गरेको छ ।
अधिकृत जोशीले भने- भदौ २३ र २४ गते जुन आन्दोलन भयो, अलिकति आगजनीका घटनाहरूका कारण पर्यटक आगमनको संख्यामा कमी भयो,” उनले भने, “त्यसले ठ्याक्कै सिजन सुरु हुँदै गर्दा हामीलाई अलिकति मनोबल खस्काएको अवस्था छ ।”
बोर्डले नेपालमा पर्यटन भित्र्याउन सही सूचना दिने प्रणालीलाई प्रभावकारी बनाइएको पनि बताएको छ ।
त्यस्तै, सूचना प्रणालीको राम्रो व्यवस्थापन गरेर पर्यटकलाई दिगो रूपमा नेपाल भित्र्याउने कार्यलाई सघन ढंगले पनि अघि बढाइएको बताएको छ। जसका लागि सरकारी र निजी क्षेत्र दुवैले संयुक्त रूपमा पहल गर्नुपर्ने बोर्डको भनाइ छ ।


















