काठमाडौं: नक्कली कागजात बनाएर विदेश जान खोज्ने व्यक्तिहरूलाई अध्यागमन कार्यालयले अफलोड (फिर्ता) गरेको छ ।
पछिल्लो तीन महिनाको अवधिमा अफलोड गरिएकाहरूबाट २२६ राहदानी (पासपोर्ट) बरामद गरिएको छ ।
अफलोड गरिएकाहरूलाई भने नियन्त्रणमा नलिई उनीहरूका शंकास्पद कागजात मात्रै नियन्त्रणमा लिएर अनुसन्धान गर्ने गरिएको अध्यागन विभागले बताएको छ ।
पछिल्लो तीन महिनामा बरामद भएका २२६ पासपोर्टमध्ये १०६ पासपोर्ट छानबिन गरेर सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको छ ।
बाँकी १२० पासपोर्ट भने अनुसन्धानका लागि भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र मानव बेचबिखन अनुसन्धान ब्यूरोमा पठाइएको विभागले बताएको छ ।
यसअघि भिजिट भिसामा जाने नागरिकलाई ६ बुँदे प्राधवान कायम रहेकोमा त्यसैलाई आधार बनाउँदै अनियमितता हुने गरेको भन्दै अहिले भने त्यो प्रावधान खारेज गरिएको छ ।
यसअघि भिजिट भिसामार्फत् विदेश जानेका हकमा न्यूनतम ५ सय अमेरिकी डलर, दुईतर्फी हवाई टिकट, अग्रिम होटल बुकिङ वा स्पोन्सरको प्रमाण अनिवार्य गरिएको थियो ।
यसैलाई कारण देखाउँदै बिचौलियाहरूले रकम असुल्ने गरेको र भिजिट भिसामा जानेहरू थप पीडित हुने गरको भन्दै त्यो प्रावधान खारेज गरिएको विभागले बताएको छ ।


















