काठमाडौं: नेपाली कांग्रेस का सचेतक निश्कल राई ले प्रधानमन्त्री संसद्प्रति जिम्मेवार हुनुपर्ने भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको संसद्प्रतिको उदासीनता लोकतन्त्रका लागि सकारात्मक संकेत नभएको बताएका हुन् ।
राईले सदनलाई “चिया चौतारी” नभई “गुरुकुल” र “विश्वविद्यालय” जस्तो जिम्मेवार थलो हुनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री स्वयं संसद् बैठकप्रति गम्भीर नदेखिएको टिप्पणी गरे ।
“आज स्वयम् सम्माननीय प्रधानमन्त्रीले गुरुकुल र विश्वविद्यालयलाई बंक गर्न थाल्नुभएको छ,” उनले भने ।
प्रधानमन्त्रीको अनुपस्थितिलाई सत्तापक्षका सांसदहरूले सामान्य बनाउन खोजेको भन्दै उनले त्यसप्रति असन्तुष्टि जनाए ।


















