संसद् बैठक आज ११ बजे, प्रधानमन्त्रीको उपस्थितिमाथि चासो

काठमाडौं: संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ।

प्रधानमन्त्री वालेन्द्र शाह नीति तथा कार्यक्रम पेस गर्न सदनमा उपस्थित नभएपछि बुधबार प्रतिपक्षी सांसदहरूले लगातार अवरोध गरेका थिए।

प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रममाथिको छलफल प्रधानमन्त्रीले नै प्रस्तुत गर्नुपर्ने र उठेका प्रश्नको जवाफ पनि स्वयं प्रधानमन्त्रीले दिनुपर्ने माग राख्दै बैठक अवरुद्ध गरेका हुन्। लगातारको अवरोधपछि सभामुख डोलप्रसाद अर्याल ले बैठक आजसम्मका लागि स्थगित गरेका थिए।

सभामुख अर्यालले प्रधानमन्त्रीलाई प्रत्यक्ष रुलिङ नगरे पनि नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिन संसद्मा उपस्थित हुन आग्रह गरेका छन्।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३८ अनुसार वैशाख ३१ गते प्रधानमन्त्रीबाट जवाफ दिने कार्यसूचीसमेत तय गरिएको छ।

आजको सम्भावित कार्यसूचीमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल, त्यसक्रममा उठेका प्रश्नको प्रधानमन्त्रीबाट जवाफ तथा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथि  छलफल समावेश हुनेछन्।