काठमाडौं: लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा यातायात प्रभावित भएको छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा कतै पूर्ण रूपमा आवागमन बन्द भएको छ भने कतै एकतर्फी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।
प्रभावित क्षेत्रहरू:
कोशी प्रदेश अन्तर्गत भोजपुरको बोखिम क्षेत्रमा बाढीका कारण मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ। त्यस्तै,सङ्खुवासभाको मकालु गाउँपालिका क्षेत्रमा पहिरो खस्दा कोशी राजमार्ग पनि एकतर्फी मात्र खुलेको छ ।
बागमती प्रदेश अन्तर्गत काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडक खण्डमा जोखिम बढेपछि बीपी राजमार्गमा सवारी सञ्चालन रोकिएको छ भने गण्डकी प्रदेशको लमजुङमा पहिरोका कारण मध्यपहाडी लोकमार्ग पूर्ण अवरुद्ध भएको छ। यसैगरी, म्याग्दीको बेनी–जोमसोम सडक खण्ड भने एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।
कर्णाली प्रदेश को हुम्लास्थित हिल्सा–सिमकोट सडक खण्डमा पहिरोको जोखिम बढेपछि यातायात रोकिएको छ।
प्रहरी प्रशासनले अत्यावश्यक काम बाहेक जोखिमयुक्त सडकमा यात्रा नगर्न र मौसम तथा सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।


















