प्रयोगशालामा फेल भएपछि डाबर मह बजारबाट हटाइँदै

काठमाडौं: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबर नेपाल प्रा. लि. द्वारा उत्पादित महको एक ब्याच तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ।

प्रयोगशाला परीक्षणका क्रममा उक्त उत्पादन न्यूनस्तरको भेटिएपछि विभागले उपभोक्ता सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो।

विभागका अनुसार बजार अनुगमनका क्रममा संकलन गरिएको ५०० ग्रामको मह ब्याच नम्बर एन.बी ००४७७ डाबर उत्पादन मिति २०२५/१२ उपभोग्य अवधि १८ महिनाको (“Honey” Batch No. NB004 DABUR, 2025/12 ) नमुनाको परीक्षण गर्दा तोकिएको गुणस्तर मापदण्ड पूरा नगरेको पाइएको हो।

यसपछि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) अनुसार उक्त ब्याचका सबै उत्पादन बजारबाट तुरुन्त फिर्ता गर्न आदेश जारी गरिएको विभागले जनाएको छ। साथै, दफा ३८(४) बमोजिम सोही ब्याचको बिक्री–वितरण नगर्न/नगराउन पनि निर्देशन दिइएको छ।

यसैगरी,विभागले उक्त महमा देखिएको गुणस्तर समस्याबारे थप अनुसन्धान भइरहेको जनाएको छ। साथै सम्बन्धित उत्पादक कम्पनीलाई आवश्यक सुधारात्मक कदम तत्काल अपनाउन निर्देशन दिइएको छ।

विभागले बजारमा उक्त ब्याचका उत्पादन देखिएमा खरिद नगर्न तथा पहिले नै खरिद गरिसकेका उपभोक्तालाई  पनि सो उत्पादन फिर्ता गर्न आग्रह गरेको छ।