सबै क्याम्पसमा स्मार्ट प्रविधि विस्तार गर्ने त्रिविको योजना

काठमाडौं: त्रिभुवन विश्वविद्यालय ले आगामी वर्षसम्म आफ्ना आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा कम्तीमा एक–एक वटा स्मार्ट कक्षा सञ्चालन गर्ने योजना अघि बढाएको छ।

नेपालस्थित युनेस्को कार्यालय तथा म्याक्स हबको सहयोगमा कीर्तिपुरस्थित शिक्षा शास्त्र केन्द्रीय विभागमा स्मार्ट कक्षाको उद्घाटन गरिएको हो।

उद्घाटन कार्यक्रममा उपकुलपति सुशील बज्राचार्यले परम्परागत एकोहोरो शिक्षण शैलीलाई अन्तरक्रियात्मक बनाउन स्मार्ट कक्षा आवश्यक भइसकेको बताए। उनले क्रमशः सबै कक्षालाई स्मार्ट प्रविधिमा रूपान्तरण गर्दै लगिने जानकारी दिए।

उपकुलपति बज्राचार्यका अनुसार स्मार्ट प्रविधिको प्रयोगले पठनपाठनलाई प्रभावकारी बनाउनुका साथै समग्र शैक्षिक नतिजा सुधार्न सहयोग पुग्नेछ। उनले इन्जिनियरिङ अध्ययन संस्थानमा यस प्रविधिको प्रयोग पहिलेदेखि हुँदै आएको अनुभवका आधारमा अब सबै क्याम्पसमा विस्तार गर्न लागिएको बताए।