काठमाडौं: बाजुराको बुढीनन्दा नगरपालिकास्थित कोल्टी आधारभूत अस्पतालमा सुत्केरी हुन आएकी हुम्लाकी एक गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
हुम्लाको सर्केगाड गाउँपालिका–१ निवासी १९ वर्षीया ललिता नेपालीलाई छ दिनदेखि सुत्केरी व्यथा लागे पनि बच्चा जन्मिन नसकेपछि आज सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।
कोल्टी आधारभूत अस्पतालले गर्भवतीको अवस्था जटिल बन्दै गएको भन्दै सुविधा सम्पन्न अस्पतालमा रिफर गरेपछि उद्धारको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानाएका छ्न्।
उनले भने- अस्पतालबाट जटिल अवस्थाबारे पत्र प्राप्त भएपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा थप उपचारका लागि सुर्खेत पठाइएको हो।
जिल्ला प्रशासन कार्यालयका अनुसार लगातार छ दिनदेखि सुत्केरी व्यथा लागिरहे पनि बच्चा नजन्मिएको तथा यौनिबाट लगातार पानी बगिरहेकाले तत्काल उद्धार गर्नुपरेको थियो।
दुर्गम क्षेत्रमा रहेका जटिल अवस्थाका गर्भवती तथा सुत्केरी महिलालाई आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनामार्फत निःशुल्क हवाई उद्धार सेवा सञ्चालन हुँदै आएको छ।



















