मनसुनअघि नै विपद्को चाप, ४० दिनमा हजारौँ घटना

काठमाडौं: चालु वर्ष २०८३ को वैशाखयता देशभर भएका विपद्जन्य घटनामा परी ७० जनाले ज्यान गुमाएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार पछिल्ला ४० दिनमा एक हजार ३४२ वटा विपद्का घटना भएका छन् भने ३३३ जना घाइते भएका छन्।

प्राधिकरणकी प्रवक्ता शान्ति महत का अनुसार सबैभन्दा बढी लेक लागेर १६ जनाको मृत्यु भएको छ। चट्याङबाट १४, आगलागीबाट ११, हुरीबाट नौ, जनावरको आक्रमणबाट आठ तथा सर्पदंशबाट पाँच जनाले ज्यान गुमाएका छन्।

त्यसैगरी पहिरो र डुङ्गा दुर्घटनामा दुई/दुई जनाको मृत्यु भएको छ भने वन डढेलो, बाढी र हिउँपहिरोमा परी एक/एक जनाको ज्यान गएको छ। विपद्का घटनाबाट देशभर एक हजार ६२१ परिवार प्रभावित भएका छन्।

घटनाको सङ्ख्याका आधारमा भने आगलागी सबैभन्दा धेरै देखिएको छ। प्राधिकरणका अनुसार आगलागीका ४८८, हुरीका २३०, चट्याङका १३९ तथा सर्पदंशका १०५ वटा घटना दर्ता भएका छन्।

पछिल्लो २४ घण्टामा मात्रै ३२ वटा विपद्जन्य घटना भएका छन्। ती घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। साथै, १७ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्राधिकरणले जनाएको छ।

मनसुन भित्रिने क्रमसँगै देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र तातो हावाको प्रभाव देखिन थालेको छ।

पूर्वी नेपालका केही जिल्लामा आज आएको भीषण बाढीका कारण जनजीवन प्रभावित भएको छ।