काठमाडौं: मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड अवरुद्ध भएको छ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा आज साँझ रूख ढलेपछि ७६ किलोमिटर लामो बेनी–जोमसोम सडकमा सिधा यातायात सम्पर्क विच्छेद भएको हो।
सडक अवरुद्ध भएपछि बेनीबाट मुस्ताङ र जोमसोमबाट बेनीतर्फ आउँदै गरेका सवारी साधनहरू बीच बाटोमै रोकिएका छन्। स्थानीयवासीसँगै मुस्ताङ घुम्न जाने पर्यटक तथा मुक्तिनाथ दर्शनका तीर्थयात्रीहरू पनि प्रभावित भएका छन्।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाका अनुसार सडक विभागका उपकरण, सुरक्षाकर्मी र मजदुर परिचालन गरेर अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ।


















