फिर्केखोलामा महानगरको डोजर, करिडोर निर्माण अभियान सुरु

काठमाडौं: पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर (सीमा) भित्र बनेका संरचना हटाउन डोजर चलाएको छ।

वर्षौंदेखि विवाद र राजनीतिक बहसको विषय बनेको फिर्केखोलालाई खाली गराएर करिडोर निर्माण गर्ने अभियान महानगरले सुरु गरेको हो।

महानगर प्रमुख धनराज आचार्य तथा सम्बन्धित वडाध्यक्षहरूको नेतृत्वमा आइतबार बिहान १० बजेदेखि फिर्केखोलाका तीन स्थानबाट एकसाथ डोजर परिचालन गरिएको छ।

पहिलो चरणमा जिरो किमी र सिर्जना चोकबीच फिर्केमाथि बनेका संरचना हटाउन थालिएको छ। यहाँबाट सुरु भएको डोजरले लायन्स क्लबको भवन क्षेत्रबाट भत्काउँदै वडा नम्बर ६ तर्फ अघि बढ्ने महानगरले जनाएको छ।

त्यसैगरी अर्को डोजरले वडा नम्बर २ र १८ को सिमाना अँधेरी कुनाबाट संरचना हटाउन सुरु गरी वडा नम्बर ४ तर्फ अघि बढ्नेछ। तेस्रो डोजरले वडा नम्बर ४ र ५ को सिमानास्थित फिर्केपुल–बूढानीलकण्ठ मन्दिर क्षेत्रबाट हटाउने काम सुरु गरी वडा नम्बर ५ र ८ तर्फ जानेछ।

२०८० साल असारमा गरिएको फिर्केखोला नापजाँच प्रतिवेदनअनुसार खोलाघरभित्र निर्माण भएका सबै प्रकारका संरचना हटाउन लागिएको हो। प्रतिवेदनमा खोलाघरभित्र १६० वटा संरचना रहेको उल्लेख छ। तीमध्ये प्रदेश प्रहरी कार्यालयलगायत सरकारी कार्यालय, समाजघर तथा निजी घरसमेत रहेका छन्।

महानगरपालिकाले जेठ ३ गते सार्वजनिक सूचना जारी गर्दै स्थायी तथा अस्थायी सबै संरचना जेठ ९ गतेभित्र आफैं हटाउन आग्रह गरेको थियो। तोकिएको समयसीमा सकिएपछि आजबाट डोजर परिचालन गरिएको हो।

महानगरले डोजर चलाउने सूचना जारी गरेसँगै फिर्केखोलाभित्र बनेका फोटो ग्राफर संघ, लायन्स क्लब तथा केही स्थानीयले आफ्ना संरचना स्वेच्छाले हटाउन थालेका थिए।