दक्षिण भारतमा भीषण तापलहर : १६ जनाको मृत्यु, स्वास्थ्य सतर्कता जारी

काठमाडौं: भारतका दक्षिणी क्षेत्रमा फैलिएको तीव्र तापलहर (लु) का कारण कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

अत्यधिक गर्मीका कारण देशका विभिन्न भागमा जनजीवन प्रभावित बनेपछि स्वास्थ्य सतर्कता जारी गरिएको छ।

वैज्ञानिक अध्ययनहरूका अनुसार जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा तापलहर पहिलेभन्दा लामो, बढी आवृत्तियुक्त र थप तीव्र बन्दै गएको छ। भारतका धेरै सहरमा तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ।

दक्षिणी राज्य तेलङ्गानामा सबैभन्दा बढी मृत्यु दर्ता भएको छ। त्यहाँका राजस्वमन्त्री पोङ्गुलेटी श्रीनिवास रेड्डीले जनस्वास्थ्य सुरक्षाका लागि राज्यव्यापी सतर्कता अपनाउन आह्वान गरेका छ्न्। साथै,राज्यभर जनस्वास्थ्य सुरक्षा उपाय कडाइका साथ लागू गर्न आग्रह पनि गरेका छन्।

भारतीय राजस्व कार्यालयले जारी गरेको विज्ञप्तिमा गर्मीको तीव्रता अभूतपूर्व स्तरमा पुगेको उल्लेख गर्दै समयमै चेतावनी प्रणाली र सावधानी अपनाउन निर्देशन दिइएको छ।

स्वास्थ्य विज्ञहरूका अनुसार अत्यधिक गर्मीले शरीरमा पानीको कमी (डिहाइड्रेसन) गराउने, रगत बाक्लो बनाउने तथा गम्भीर अवस्थामा शरीरका अङ्गहरूले काम गर्न छोड्ने जोखिम बढाउँछ। स्थानीय प्रशासनले वृद्धवृद्धा, बालबालिका र गर्भवती महिलालाई अत्यावश्यक कामबाहेक दिउँसो बाहिर ननिस्कन आग्रह गरेको छ।

यसैबीच, भारतीय मौसम विभागले देशका धेरै भागमा सामान्यभन्दा बढी तापक्रम र तीव्र तापलहर जारी रहने चेतावनी दिएको छ। राजधानी नयाँ दिल्ली लगायत आसपासका क्षेत्रमा यस साताभर तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ, जसका कारण विद्युत् माग पनि रेकर्ड स्तरमा पुगेको बताइएको छ।

विशेषज्ञहरूले रातिको तापक्रमसमेत उच्च रहँदा मानिसहरूले पर्याप्त आराम नपाउने र त्यसले स्वास्थ्य जोखिम झन् बढाउने बताएका छन्।