बुढानीलकण्ठमा डेरी तथा मासु पसलको अनुगमन तीव्र

काठमाडौ: बुढानीलकण्ठ नगरपालिकाले नगरभित्र सञ्चालित डेरी तथा मासु पसलहरूको अनुगमनलाई तीव्रता दिएको छ।

उपप्रमुख अनिता लामाको नेतृत्वमा पशु विकास शाखाले सञ्चालन गरेको अनुगमनमा विभिन्न पसलहरूको सरसफाइ, खाद्य सामग्री भण्डारण गर्ने तरिका तथा म्याद नाघेका वस्तुको अवस्थाबारे निरीक्षण गरिएको हो।

नगरपालिकाका अनुसार उपभोक्ताको स्वास्थ्य र खाद्य सुरक्षालाई ध्यानमा राख्दै नियमित रूपमा अनुगमन अभियान सञ्चालन गरिएको हो।

अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालन भइरहेका केही पसललाई तत्काल सुधार गर्न कडा निर्देशन दिइएको छ।

त्यस्तै, पटक–पटक नियम उल्लंघन गर्ने व्यवसायीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत नगरपालिकाले दिएको छ।

गुणस्तरहीन तथा अस्वस्थकर खाद्य वस्तु बिक्री वितरण रोक्न आगामी दिनमा अनुगमनलाई अझ प्रभावकारी बनाउने समे नगरपालिकाले जनाएको छ।