बुढानीलकण्ठमा विद्यार्थीलाई जुनोटिक रोगबारे सचेतना

काठमाडौं: बुढानीलकण्ठ नगरपालिकाले विद्यार्थीहरूमा कृषि, पशुपालन तथा जनस्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘कृषि तथा पशुपन्छी सम्बन्धी स्कूल शिक्षा कार्यक्रम’ सञ्चालन गरेको छ ।

नगरपालिकाको पशु सेवा शाखा, चपलीले जोसेफ माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरूलाई पशुपालनको महत्व, पशुपन्छीबाट मानिसमा सर्न सक्ने जुनोटिक रोग तथा त्यसबाट बच्ने उपायबारे जानकारी दिइएको हो ।

कार्यक्रममा रोगी पशुपन्छीको प्रत्यक्ष सम्पर्क, दूषित पानी तथा अपक्व खाद्य पदार्थको सेवन, संक्रमित व्यक्तिको सम्पर्क र लामखुट्टे, किर्ना तथा माखाजस्ता किटपतङ्गको टोकाइबाट जुनोटिक रोग फैलिन सक्नेबारे जानकारी गराइएको थियो ।

साथै, व्यक्तिगत सरसफाइ, सुरक्षित खानपान र घरपालुवा पशुपन्छीको नियमित स्वास्थ्य हेरचाहमा ध्यान दिनुपर्नेमा जोड दिइएको थियो ।

कार्यक्रममा शिक्षक, शिक्षिका, पशु सेवा शाखाका प्रतिनिधि तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो । नगरपालिकाले यस्ता सचेतनामूलक कार्यक्रम नगरभित्रका अन्य विद्यालयहरूमा पनि निरन्तर सञ्चालन गर्ने जनाएको छ ।