काठमाडौं: पृथ्वीराजमार्गअन्तर्गतको मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजना निर्धारित समयमै सम्पन्न नहुने संकेत देखिएको छ।
पटक–पटक म्याद थपिए पनि निर्माण कार्यले अपेक्षित गति लिन नसक्दा यो वर्षभित्र आयोजना सकिने सम्भावना कमजोर बनेको हो।
तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्म फैलिएको ३८ दशमलव ७१ किलोमिटर सडकखण्ड पश्चिम खण्डअन्तर्गत पर्दछ। आयोजनाको म्याद तेस्रोपटक थप गर्दै आगामी असार १५ गतेसम्म कायम गरिएको भए पनि हालको प्रगति हेर्दा काम समयमै सकिने अवस्था छैन।
आयोजनाले पेट्रोलियम पदार्थको अभाव, निर्माण सामग्रीको मूल्यवृद्धि तथा लगातारको वर्षालाई ढिलाइको मुख्य कारण मानेको छ।
मूल्यवृद्धिका कारण निर्माण कम्पनीले अत्यावश्यक बाहेकका अन्य काममा अपेक्षित गति दिन नसकेको जनाएको छ।
मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डका प्रमुखका अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत पुगेको छ। पहिलो तहको कालोपत्रे ३८ किलोमिटर र दोस्रो तहको कालोपत्रे ३७ दशमलव २८ किलोमिटर सम्पन्न भइसकेको प्रमुखको भनाइ छ ।
आयोजना अन्तर्गत २० दशमलव ५५ किलोमिटर चार लेन सडक तथा १८ दशमलव १६ किलोमिटर चार लेनसहित सर्भिस लेन निर्माण गर्नुपर्नेछ। तर इन्धन अभाव र महँगो निर्माण सामग्रीका कारण निर्धारित समयमा काम सक्न कठिनाइ भएको बताएको छ।
यसैगरी, आयोजनाका सूचना अधिकारी अनन्त बरालका अनुसार कालोपत्रे सम्पन्न भएका क्षेत्रमा अहिले सर्भिस लेन निर्माण, सडक मार्किङ, थर्मोप्लास्टिक पेन्ट तथा ‘डब्लु बिम रोड सेफ्टी ब्यारियर’ जडानको काम भइरहेको छ।
एशियाली विकास बैंकको लगानीमा सञ्चालित उक्त आयोजनाको पश्चिम खण्ड निर्माणका लागि चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनसँग सात अर्ब ४० करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो। त्यस्तै, निर्माण सम्झौता २०७८ जेठ २ गते भएको थियो भने सोही वर्ष भदौ १२ गतेदेखि काम सुरु गरिएको थियो।



















