किष्ट शिक्षण अस्पतालद्वारा २०० बढी अंगदाता सम्मानित

काठमाडौं: किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ‘अंगदाता सम्मान कार्यक्रम’ आयोजना गर्दै २०० भन्दा बढी अंगदातालाई सम्मान गरेको छ ।

मानव जीवन बचाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने अंगदाताप्रति सम्मान र आभार व्यक्त गर्न कार्यक्रम गरिएको हो।

कार्यक्रमको उद्घाटन ललितपुर महानगरपालिकाका प्रमुख तथा उपत्यका मेयर फोरमका अध्यक्ष चिरीबाबु महर्जनले गरेका थिए ।

निजी क्षेत्रका अस्पतालमध्ये सबैभन्दा बढी अंग प्रत्यारोपण गर्ने अस्पतालका रूपमा किष्ट शिक्षण अस्पताल अग्रस्थानमा रहेको अस्पतालको दाबी छ ।

ग्वार्कोस्थित अस्पतालले पछिल्ला पाँच वर्षदेखि उच्च सफलता दरसहित प्रत्यारोपण सेवा सञ्चालन गर्दै आएको जनाएको छ ।

अस्पतालका अनुसार हालसम्म २०२ जनामा मिर्गौला तथा १५ जनामा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भइसकेको छ । यसबाट धेरै बिरामीले नयाँ जीवन पाएको अस्पतालको भनाइ छ ।

अस्पतालले अन्तर्राष्ट्रियस्तरको सेवा गुणस्तर कायम गर्दै ‘एनएबीएच’ प्रमाणीकरण प्राप्त गरेको जनाएको छ ।

अत्याधुनिक प्रविधिको प्रयोगमार्फत एकैसाथ मिर्गौला र कलेजो प्रत्यारोपण, दुई परिवारबीच आपसी सहमतिमा हुने अंगदान प्रत्यारोपण तथा दुरबिन प्रविधिबाट शल्यक्रिया सफलतापूर्वक गर्दै आएको अस्पतालले उल्लेख गरेको छ ।