तीन वर्षभित्र ९० प्रतिशत नेपाली नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउने सरकारको लक्ष्य

काठमाडौं: सरकारले आगामी तीन वर्षभित्र ९० प्रतिशत नेपाली नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउने लक्ष्य अघि सारेको छ।

शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन व्यापक पुनर्संरचना गरिने बताएका हुन्।

उनका अनुसार हाल विभिन्न निकायमार्फत सञ्चालन भइरहेका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम तथा स्वास्थ्यसम्बन्धी दायित्वलाई एकीकृत गरी एकल भुक्तानी प्रणाली लागू हुनेछ ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले भने- ‘स्वास्थ्य बीमाको सर्वव्यापीकरणमार्फत आगामी तीन वर्षमा ९० प्रतिशत नेपालीलाई बीमाको दायरामा ल्याई व्यक्तिगत उपचार खर्चमा उल्लेखनीय कमी ल्याइने अपेक्षा गरेका छौँ,’।