२१ खर्ब २४ अर्ब ३४ करोडको बजेट सार्वजनिक, स्वास्थ्य र सामाजिक सुरक्षामा जोड

काठमाडौं: आगामी आर्थिक वर्षका लागि सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट घोषणा गरेको छ।

शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै स्वास्थ्य, सामाजिक सुरक्षा र पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखिएको जानकारी दिए।

बजेटअन्तर्गत चालुतर्फ १२ खर्ब ७० अर्ब, पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिएको छ। सरकारको अनुमानित राजस्व १४ खर्ब ४ अर्ब रहनेछ भने वैदेशिक ऋण २ खर्ब ४७ अर्ब, आन्तरिक ऋण ४ खर्ब १० अर्ब र अनुदान ६१ अर्ब ७४ करोड रहनेछ।

बजेटमा स्वास्थ्य बीमालाई ९० प्रतिशत जनसंख्यासम्म विस्तार गर्ने, सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब विनियोजन गर्ने तथा नर्सहरूको रात्रिकालीन भत्ता १०० प्रतिशतले बढाउने घोषणा गरिएको छ।

साथै, सडक बालबालिकामुक्त देश घोषणा गर्ने र पाँच वर्षभित्र ८ सहरमा आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने योजना पनि समावेश गरिएको छ।