काठमाडौं: पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता लिन सरकारसँग माग गरेका छन् ।
सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै घिसिङले उक्त निर्णय आम उपभोक्ताको हित, ऊर्जा रूपान्तरणको लक्ष्य र स्वदेशमै उत्पादित स्वच्छ ऊर्जाको प्रयोग विस्तार गर्ने राष्ट्रिय अभियानविपरीत रहेको बताएका हुन् ।
उनले ५० युनिटभन्दा बढी विद्युत् प्रयोग गर्ने अधिकांश सामान्य घरायसी उपभोक्ता रहेको उल्लेख गर्दै नयाँ करले लाखौं परिवारको मासिक खर्च बढाउने दाबी गरेका छन् ।
विद्युत् पहुँच विस्तारसँगै खाना पकाउने, पानी तताउनेलगायत घरेलु प्रयोजनमा विद्युत् प्रयोग बढिरहेका बेला सरकारले थप करको भार थोपरेर उपभोक्तालाई निरुत्साहित गर्न खोजेको उनको आरोप छ ।
उनले स्वदेशमै उत्पादित विद्युत् खपत बढाउन प्रोत्साहनमूलक नीति आवश्यक रहेको उल्लेख गर्दै यस्तो करले विद्युतीय चुलोलगायत उपकरणको प्रयोग घटाएर पुनः एलपी ग्यासप्रतिको निर्भरता बढ्न सक्ने चेतावनी दिएका छन् ।




















