धनी राष्ट्रलाई अमेरिकाको सन्देश: आफ्नो सुरक्षा खर्च आफैं बेहोर्नुहोस्

काठमाडौं: अमेरिकी रक्षामन्त्री पिट हेगसेथले धनी राष्ट्रहरूको सुरक्षाको जिम्मा अमेरिकाले एक्लै लिन नसक्ने स्पष्ट गर्दै अब मित्रराष्ट्रहरूले आफ्नै रक्षा क्षमतामा बढी लगानी गर्नुपर्ने बताएका छन्।

उनले अमेरिका र चीनबीचको सम्बन्ध पछिल्ला वर्षहरूको तुलनामा सुधारोन्मुख रहेको उल्लेख गर्दै सैन्य नेतृत्वबीचको निरन्तर संवादले आपसी तनाव कम गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका हुन्।

पश्चिम एसियाको सुरक्षा अवस्थाबारे बोल्दै हेगसेथले कूटनीतिक प्रयास सफल नभए इरानविरुद्ध पुनः सैन्य कारबाहीको विकल्प खुला रहेको बताए। राष्ट्रपति डोनाल्ड ट्रम्प इरानलाई आणविक हतियार विकास गर्न नदिने नीतिमा अडिग रहेको उनको भनाइ थियो।

ताइवानलाई हतियार बिक्री गर्ने विषयमा भने उनले अन्तिम निर्णय राष्ट्रपति ट्रम्पले नै गर्ने बताए।

चीनले आफ्नो भूभाग दाबी गर्दै आएको ताइवानले अमेरिकासँग करिब १४ अर्ब डलर बराबरका हतियार खरिदका लागि स्वीकृति पर्खिरहेको छ।