काठमाडौं: यूएईस्थित वायुसेवा कम्पनी फ्लाई दुबईको प्राविधिक टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत निरीक्षण गर्दै नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका सम्भावनाबारे अध्ययन गरेको छ।
जोखिम व्यवस्थापन उपाध्यक्ष एड्रियन लुकास नेतृत्वको टोलीले विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला तथा प्राविधिक अधिकारीहरूसँग करिब ६ घण्टा छलफल गरी धावनमार्ग, सुरक्षा व्यवस्था, प्राविधिक पूर्वाधार र उडान सञ्चालनका विभिन्न पक्षको मूल्याङ्कन गरिएको हो।
निरीक्षणपछि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भएको भेटमा लुकासले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्राविधिक तथा सुरक्षा दृष्टिले उपयुक्त रहेको बताएका छन्। उनले पोखरा–दुबई दैनिक सिधा उडान सञ्चालन गर्न फ्लाई दुबई सकारात्मक र इच्छुक रहेको जानकारी पनि दिए।
लुकासले अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक वातावरण बनाउन तथा उडान मार्ग सहज बनाउन महानगर प्रमुख आचार्यले खेलेको भूमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका थिए।
फ्लाई दुबईले पोखराबाट सेवा सुरु गरेमा इमिरेट्सको विश्वव्यापी सञ्जालमार्फत पोखरा ३०० भन्दा बढी अन्तर्राष्ट्रिय गन्तव्यसँग जोडिन सक्ने अपेक्षा गरिएको छ। यसबाट युरोप, अमेरिका र अफ्रिकालगायत विभिन्न क्षेत्रका पर्यटकलाई दुबई हुँदै पोखरा पुग्न थप सहज हुने विश्वास गरिएको छ।
महानगर प्रमुख आचार्यका अनुसार लामो समयदेखिको पहल, प्राविधिक अध्ययन र सरोकारवालाबीचको समन्वयपछि नियमित उडानको मिति सार्वजनिक गर्ने चरणमा प्रक्रिया पुगेको छ।
फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति देखाएको चासो र हालसम्म भएका प्रगतिका कदमले पोखरावासी तथा पर्यटन व्यवसायीहरूमा आशा र उत्साह थपिएको महानगर प्रमुख आचार्यले बिश्वास व्यक्त गरे।
साथै, प्रस्तावित उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग प्रत्यक्ष रूपमा जोड्दै विश्व पर्यटन बजारमा थप पहुँच विस्तार गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।




















