काठमाडौं: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित २३ वटा सहकारी संस्थाका सञ्चालकहरूको नामावली सार्वजनिक गर्दै उनीहरूले बचतकर्ताको रकम वा सहकारीको सम्पत्ति हिनामिना गरी परिवार, आफन्त वा अन्य व्यक्तिको नाममा सम्पत्ति लुकाएको जानकारी भए सूचना दिन सर्वसाधारणसँग आग्रह गरेको छ।
समितिले सार्वजनिक सूचनामार्फत ती सञ्चालकहरूले आफ्नो नामबाहेक नातागोता वा अन्य व्यक्तिको नाममा सम्पत्ति वा रकम राखेको जानकारी भए कार्यालयमा खबर गर्न अनुरोध गरेको हो।
समितिले समस्याग्रस्त सहकारीका सञ्चालकहरूलाई सहकारीको दायित्व व्यवस्थापन, ऋण असुली, सम्पत्ति तथा स्रोत–साधनको पहिचान र व्यवस्थापनमा सहयोग गर्न तथा बचत फिर्ता प्रक्रियामा नियमित रूपमा समितिसँग सम्पर्कमा रहन पनि आग्रह गरेको छ।
सूचनामा सहयोग नगरे कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ। साथै सार्वजनिक विवरणमा कुनै त्रुटि वा अद्यावधिक गर्नुपर्ने विषय भए समितिको कार्यालयमा सम्पर्क गर्न भनिएको छ।
समितिले समस्याग्रस्त २३ सहकारीका सञ्चालकहरूको विस्तृत विवरणसमेत सार्वजनिक गरेको छ।
सहकारी सञ्चालकहरुको विवरण लिङ्कमा क्लिक गर्नुहोस् ।




















