काठमाडौं: भारतीय विदेशमन्त्री डा. जयशंकरले नेपाल र भारतबीचको सहकार्यलाई नयाँ क्षेत्रहरूमा विस्तार गर्न सकिने बताएका छन्।
उनले कृत्रिम बुद्धिमत्ता (एआई), सूचना प्रविधि, स्टार्टअप र नवीकरणीय ऊर्जा जस्ता क्षेत्रमा दुवै देशले सँगै अघि बढ्न सक्ने उल्लेख गरेका हुन्।
नयाँ दिल्लीमा नेपाली प्रतिनिधिमण्डलसँग भएको भेटवार्ताका क्रममा जयशंकरले नेपाल–भारत सम्बन्ध परम्परागत मित्रतामा मात्र सीमित नरही आधुनिक प्रविधि र नवप्रवर्तनका क्षेत्रमा पनि विस्तार हुँदै गएको बताए। उनले खुला सीमाको सुरक्षालाई दुवै देशको साझा जिम्मेवारीका रूपमा उल्लेख गर्दै यसका लागि निरन्तर सहकार्य भइरहेको बताए।
नेपाल र भारतले कठिन परिस्थितिमा समेत एकअर्कालाई साथ दिँदै आएको स्मरण गर्दै उनले पश्चिम एसियामा जारी तनावका बीच पनि नेपालमा इन्धन आपूर्ति सहज बनाइएको बताए।
जयशंकरले हालै भारत भ्रमण गरेका रबि लामिछानेको भ्रमणले समेत दुई देशबीचको सम्बन्ध थप सुदृढ भएको सन्देश दिएको बताए। उनले सीमापार कनेक्टिभिटी, सांस्कृतिक निकटता र साझा धार्मिक सम्बन्ध नेपाल–भारत मित्रताका महत्वपूर्ण आधार भएको उल्लेख गर्दै दुवै देशको समृद्धि र विकासका लागि भारत निरन्तर सहकार्य गर्न तयार रहेको बताए।
साथै, प्रधानमन्त्री नरेन्द्र मोदीले व्यक्त गरेको प्रतिबद्धताअनुसार नेपालसँगको सम्बन्धलाई अझ बलियो बन्ने उनले बिश्वास व्यक्त गरे।




















