पर्सा अधिवेशनमा विवाद चर्किँदा मनोनयन प्रक्रिया रोकियो

वीरगन्ज: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जिल्ला अधिवेशनका क्रममा कार्यकर्ताहरूबीच भएको झडपपछि मनोनयन दर्ता प्रक्रिया स्थगित गरिएको छ।

वीरगन्ज–९ स्थित होटल गेटवेमा शनिबार जारी निर्वाचन कार्यक्रमका बीच असन्तुष्ट पक्षले अधिवेशन रोक्न माग गर्दै विरोध जनाएपछि विवाद उत्पन्न भएको हो।

विवाद बढ्दै जाँदा दुवै पक्षबीच हात हालाहालको स्थिति सिर्जना भएको बताइएको छ। झडप होटल परिसरबाट सुरु भई बाहिर सडकसम्म पुगेको थियो। केही कार्यकर्ताले एकअर्कामाथि हेल्मेट प्रहारसमेत गरेका थिए। अवस्था तनावग्रस्त बनेपछि नेपाल प्रहरीले हस्तक्षेप गर्दै सामान्य बल प्रयोग गरी स्थिति नियन्त्रणमा लिएको थियो।

रास्वपा पर्साका जिल्ला सभापति तथा प्रतिनिधिसभा सदस्य हरि पन्तका अनुसार निर्वाचन प्रक्रिया चलिरहेका बेला एक समूहले कार्यक्रमस्थलमा प्रवेश गरी अवरोध सिर्जना गरेको थियो। निर्वाचन समितिका सदस्यमाथि समेत दुर्व्यवहार भएपछि मनोनयन दर्ता कार्यक्रम आइतबार बिहानसम्मका लागि स्थगित गरिएको उनले बताए।

यसअघि पार्टीका केही नेता तथा कार्यकर्ताले अधिवेशन प्रक्रिया विवादास्पद रहेको भन्दै स्थगनको माग गरेका थिए। सोही विषयलाई लिएर निर्वाचन समितिसँग छलफल भए पनि सहमति जुट्न नसकेपछि विवाद झडपमा परिणत भएको बताइएको छ।

घटनापछि अधिवेशनस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने पार्टीभित्र देखिएको विवाद समाधानका लागि आन्तरिक पहल जारी रहेको जनाइएको छ।