‘नेपाली ब्रो’द्वारा श्रीमतीको हत्या प्रकरण : थप तीन जना पक्राउ

काठमाडौं:  तारकेश्वर नगरपालिका–६ पैंयुटारमा एक महिलाको मृत्यु भएको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ नामले परिचित कुमार थापा मगर पनि रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार जेठ २२ गते राति घरायसी विवादका क्रममा ईश्वरी भुजेलमाथि धारिलो हतियार प्रहार भएको थियो। गम्भीर घाइते भएकी भुजेललाई उपचारका लागि तत्काल अस्पताल लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले कुमार थापा मगरलाई नियन्त्रणमा लिएको थियो। यसै घटनासँग सम्बन्धित किटानी जाहेरीका आधारमा थप तीन जनालाई पनि पक्राउ गरिएको प्रहरीको भनाइ छ।

प्रहरीले चारै जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको छ। अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीहरूलाई हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।