काठमाडौं: थाइल्यान्डस्थित नेपाली दूतावासले कम्बोडियामा भिसा अवधि सकिएपछि पनि अवैध रूपमा बसिरहेका ६६ जना नेपाली नागरिकलाई तत्काल स्वदेश फर्किन आग्रह गरेको छ।
भिसा अवधि समाप्त भएपछि पनि नवीकरण नगरी त्यहीँ बस्दै आएका ६६ जना नेपालीलाई तत्काल स्वदेश फर्किन आग्रह गरेको हो।
थाइल्यान्डस्थित नेपाली दूतावासले एक सूचना जारी गरी त्यस्ता नेपालीलाई तत्काल स्वदेश फर्किन भनिएको छ।
दूतावासका अनुसार विभिन्न प्रयोजनका लागि कम्बोडिया पुगेका नेपालीमध्ये भिसा अवधि समाप्त भइसकेपछि पनि नवीकरण नगरी बसेका नागरिकहरूको स्वदेश फिर्तीका लागि कम्बोडिया सरकारले विशेष सहजीकरण गरेको थियो। उक्त व्यवस्थाअन्तर्गत भिसा शुल्क तथा जरिवाना रकमसमेत मिनाहा गरिएको थियो।
यसअघि ६०२ जना नेपाली नागरिकलाई स्वदेश फर्काउन पहल गरिए पनि हालसम्म ६६ जना नेपाली सम्पर्कमा आएर फर्किन इच्छुक नदेखिएको दूतावासले जनाएको छ। ईमेल, टेलिफोन तथा ह्वाट्सएपमार्फत पटक–पटक सम्पर्क गर्दा पनि उनीहरूले आवश्यक प्रक्रिया अघि नबढाएको दूतावासको भनाइ छ।
दूतावासले सम्बन्धित नेपाली नागरिकलाई कनेक्टिङ फ्लाइटसहितको टिकट व्यवस्था गरी आगामी १२ जुन २०२६ भित्र अनिवार्य रूपमा नेपाल फर्किन आग्रह गरेको छ। साथै, परिवारजन र आफन्तलाई पनि आफ्ना सदस्यहरूलाई स्वदेश फर्काउन पहल गर्न अनुरोध गरिएको छ।
कम्बोडिया सरकारले हालै लागू गरेको कानुनअनुसार तोकिएको समयभित्र देश नछोड्ने विदेशी नागरिकमाथि अनुसन्धान गरी कसुरको प्रकृतिअनुसार पाँच लाख अमेरिकी डलरसम्म जरिवाना र आजीवन कारावाससम्मको सजाय हुन सक्ने व्यवस्था रहेको दूतावासले चेतावनी दिएको छ।





















