सगरमाथा क्षेत्रमा सुरक्षा चुनौती बढेको भन्दै सरकारको ध्यानाकर्षण

काठमाडौं: सगरमाथा आरोही सङ्घले हिमाली क्षेत्रमा कार्यरत आरोही तथा सहयोगी कर्मचारीहरूको सुरक्षाप्रति गम्भीर चासो व्यक्त गर्दै दावा शेर्पासँग सम्बन्धित घटनाको निष्पक्ष र उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग गरेको छ।

सङ्घले जारी गरेको विज्ञप्तिमा नेपालको हिमाली क्षेत्रमा पछिल्लो समय देखिएका सुरक्षा चुनौतीहरूले पर्वतारोहण क्षेत्र र पर्यटन उद्योगमा नकारात्मक प्रभाव पार्न सक्ने उल्लेख गरिएको हो।

विशेष गरी नेपाल भ्रमण वर्ष २०८५ को तयारी भइरहेका बेला यस्ता घटनाले अन्तर्राष्ट्रिय समुदायमा गलत सन्देश जाने सङ्घको भनाइ छ।

ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–६ निवासी ५७ वर्षीय दावा शेर्पा सगरमाथा क्षेत्रमा कार्यरत रहँदा भएको घटनाप्रति सङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। परिवारले उद्धार तथा खोजी कार्य प्रभावकारी रूपमा नभएको गुनासो गरेकाले घटनाका सबै पक्षबारे सत्यतथ्य बाहिर ल्याउन स्वतन्त्र छानबिन आवश्यक रहेको सङ्घले जनाएको छ।

साथै, दोस्रो आधार शिविरमा कार्यरत व्यक्तिलाई चौथो आधार शिविरसम्म पठाइएको विषय, बेपत्ता अवधिमा गरिएको खोजी तथा उद्धार प्रयासलगायत सम्पूर्ण घटनाक्रमको वस्तुनिष्ठ अनुसन्धान हुनुपर्ने माग गरिएको छ।

सङ्घले हिमाली क्षेत्रमा कार्यरत जनशक्तिको सुरक्षा सुनिश्चित गर्न स्पष्ट कार्यविधि, प्रभावकारी निगरानी प्रणाली र आवश्यक कानुनी व्यवस्था लागू गर्न सरकारसँग आग्रह गरेको छ। साथै, दावा शेर्पाको परिवारप्रति ऐक्यबद्धता व्यक्त गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन ठोस कदम चाल्नुपर्नेमा जोड दिएको छ।