इरानद्वारा इजरायलतर्फ क्षेप्यास्त्र प्रहार, हवाई क्षेत्र आंशिक बन्द; ट्रम्पले थप तनाव नबढाउन आग्रह

काठमाडौं: इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेपछि आफ्नो हवाई क्षेत्रको पश्चिमी भाग अस्थायी रूपमा बन्द गरेको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले लेबनानको बेरुतमाथि इजरायलले गरेको आक्रमणको जवाफस्वरूप गरिएको पछिल्लो सैन्य कारबाहीलाई ‘प्रारम्भिक चेतावनी’ मात्र भएको जनाएको हो।

इरानी सरकारी समाचार एजेन्सी इर्नाका अनुसार राष्ट्रिय नागरिक उड्डयन संगठनका प्रवक्ता मजिद अखभानले सुरक्षा मूल्यांकनका आधारमा अर्को सूचना जारी नभएसम्म पश्चिमी क्षेत्रको हवाई उडान प्रतिबन्धित गरिएको जानकारी दिएका छन्।

क्षेत्रीय सुरक्षालाई मध्यनजर गर्दै इराक र सिरियाले पनि आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेका छन्।
आईआरजीसीले जारी गरेको विज्ञप्तिमा इजरायलले आफ्नो सैन्य कारबाही जारी राखेमा क्षेत्रभर रहेका अमेरिकी तथा इजरायली सैन्य र रणनीतिक संरचनाहरूलाई निशाना बनाइने चेतावनी दिएको छ।

इरानको खातम अल–अम्बिया सेन्ट्रल कमान्डका प्रमुख जनरल अली अब्दोल्लाहीले दक्षिणी लेबनान र बेरुतका उपनगरहरूमा भइरहेका आक्रमण रोक्न इजरायललाई आग्रह गरेका छन्।

यता, इजरायली सेनाले इरानबाट प्रहार गरिएका दुई चरणका क्षेप्यास्त्र आक्रमण सफलतापूर्वक निष्क्रिय बनाइएको दाबी गरेको छ। सामाजिक सञ्जाल एक्समार्फत सेनाले हालसम्म प्रहार गरिएका सबै क्षेप्यास्त्रहरू बीचमै रोकिएको जनाएको छ। थप आक्रमणको सम्भावनालाई ध्यानमा राख्दै हवाई रक्षा प्रणाली उच्च सतर्कतामा राखिएको पनि सेनाले जनाएको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षलाई थप सैन्य तनाव नबढाउन आग्रह गरेका छन्। उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग कुरा गर्दै थप जवाफी आक्रमण नगर्न सुझाव दिने बताएका छन्।

ट्रम्पले दुवै पक्षले आफ्नो प्रतिक्रिया दिइसकेको भन्दै अब थप आक्रमण आवश्यक नरहेको बताएका छन्। उनले इजरायलले पुनः हमला गरेमा प्रतिशोधको चक्र अझ लम्बिन सक्ने चेतावनीसमेत दिएका छन्।