काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को विवादास्पद अभिव्यक्तिका कारण अवरुद्ध प्रतिनिधिसभा सञ्चालन गर्ने विषयमा दलहरूबीच नयाँ विकल्पबारे छलफल भइरहेको छ।
प्रधानमन्त्रीको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले संसद्मा जवाफ दिने प्रस्ताव सर्वदलीय बैठकमा उठाइएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक बुधबार सिंहदरबारमा जारी छ। बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका नेता तथा प्रमुख सचेतकहरू सहभागी छन्।
छलफलमा नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बे, नेकपा एमालेका रामबहादुर थापा, नेकपाका वर्षमान पुनलगायत नेताहरू सहभागी रहेको बताइएको छ। बैठकको मुख्य एजेन्डा प्रतिनिधिसभाको अवरोध अन्त्य गरी नियमित कार्यसूची सञ्चालन गर्ने उपाय खोज्नु रहेको छ।
स्रोतका अनुसार प्रधानमन्त्री बालेन शाहको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले सरकारको धारणा प्रस्तुत गर्ने र त्यसपछि सदनको अवरोध हटाउने सम्भावनाबारे गम्भीर छलफल भइरहेको छ।
प्रधानमन्त्री शाहले जेठ १७ गते प्रतिनिधिसभामा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको केही भूमि अतिक्रमण गरेको आशयको अभिव्यक्ति दिएका थिए। उक्त भनाइपछि विपक्षी दलहरूले आपत्ति जनाउँदै संसद् बैठक अवरुद्ध गर्दै आएका छन्।
बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीको लिखित धारणा संसद्मा प्रस्तुत गरिए मन्त्रीमार्फत पढ्न सकिने संकेत गरेका छन्। तर रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्रीको लिखित वक्तव्यभन्दा पनि सरकारको स्पष्ट धारणा आउनु महत्वपूर्ण भएको बताएका छन्।
उनले बैठकमा प्रधानमन्त्रीलाई पनि संवादका लागि प्रयास गरिने उल्लेख गर्दै तत्काल सरकारको धारणा सम्बन्धित मन्त्रीमार्फत संसद्मा प्रस्तुत गर्न सकिने प्रस्ताव राखेका छन्।
संसदीय गतिरोध अन्त्यका लागि दलहरूबीच सहमति जुटाउने प्रयास जारी रहेकाले बैठकको निष्कर्षलाई राजनीतिक वृत्तले चासोका साथ हेरिरहेको छ।




















