काठमाडौं: प्रधानमन्त्री बालेन शाहको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर संसद्मा उठेको विवादबारे परराष्ट्रमन्त्री शिशिर खनालले सरकारको धारणा सार्वजनिक गरेका छन्।
प्रतिनिधिसभामा बुधबार जवाफ दिँदै मन्त्री खनालले प्रधानमन्त्रीको भनाइ नेपाल–भारत सीमा क्षेत्रमा देखिएका अतिक्रमण र सीमांकनका विषयसँग सम्बन्धित रहेको बताए। उनले सीमा विवादका कतिपय क्षेत्र अझै पूर्ण रूपमा नक्सांकन हुन बाँकी रहेको र दशगजा क्षेत्रमा अतिक्रमणका समस्या कायम रहेको उल्लेख गरे।
प्रधानमन्त्रीले गत जेठ १७ गते संसद्मा बोल्दै नेपालले मात्र होइन, नेपालले पनि भारतको केही भूमि मिचेको हुन सक्ने जानकारी आफूले प्रधानमन्त्री बनेपछि पाएको बताएका थिए। उक्त अभिव्यक्तिपछि विपक्षी दलहरूले सरकारसँग स्पष्टीकरण माग्दै आएका छन्।
जवाफका क्रममा मन्त्री खनालले नेपाली भूमि लिपुलेक हुँदै भारतले मानसरोवर यात्रा सञ्चालन गरेको विषयमा नेपाल सरकारले आफ्नो आधिकारिक असहमति जनाइसकेको जानकारी दिए। यस सम्बन्धमा नेपालले भारतलाई कूटनीतिक नोट पठाएको र भारतबाट त्यसको जवाफ प्राप्त भएको उनले बताए।
उनले नेपाल–भारत सीमा विवाद वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्ने सरकारको नीति रहेको दोहोर्याउँदै यस विषयमा कुनै तेस्रो मुलुकको संलग्नता नखोजिएको स्पष्ट पारे।
सरकारले सीमा सम्बन्धी सबै विषय तथ्य, प्रमाण र द्विपक्षीय संवादका आधारमा समाधान गर्ने प्रतिबद्धता दोहोर्याएको छ।




















