काठमाडौं: श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क सम्पाङले प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही बनाउन सभामुखले रुलिङ गर्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभामा आफ्नो धारणा राख्दै साम्पाङले संसद्को नियमावली प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको गुनासो गरे। उनले संसदभित्रै नियम र कानुनको पालना हुन नसकेको अवस्थामा देशका लागि गुणस्तरीय कानुन निर्माण गर्न कठिन हुने बताए।
“सदनमा बोल्नका लागि पनि आन्दोलन गर्नुपर्ने अवस्था आएको छ। प्रधानमन्त्रीलाई संसदमा बोलाउनका लागि पनि आन्दोलन गर्नुपरेको छ,” उनले भने।
साम्पाङले प्रधानमन्त्री नियमित रूपमा संसदमा उपस्थित हुनुपर्ने धारणा राख्दै मन लागेको बेला मात्रै सदनमा उपस्थित हुने प्रवृत्ति लोकतान्त्रिक अभ्यासअनुकूल नभएको बताए। यसैगरी उनले संसद र सांसदहरूप्रति प्रधानमन्त्रीको उत्तरदायित्व सुनिश्चित गर्न सभामुख डीपी अर्यालले आवश्यक निर्देशन दिनुपर्ने माग गरे।
साथै, उनले प्रधानमन्त्री बालेन शाहले पनि अन्य सांसदसरह संसदका सदस्य भएकाले संसद र संविधानको दायराभित्र रहेर काम गर्नुपर्ने बताए।




















