बेइजिङबाट परराष्ट्रमन्त्री खनालको दाबी: ठूला भ्रष्टाचार काण्डको छानबिन अघि बढ्दै

काठमाडौं: चीनको औपचारिक भ्रमणका क्रममा बेइजिङ पुगेका परराष्ट्रमन्त्री शिशिर खनाल ले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्।

उनले पुराना तथा ठूला भ्रष्टाचारका घटनाको छानबिन प्रक्रिया अगाडि बढाइएको दाबी गरेका हुन्।

नेपाली दूतावासले आयोजना गरेको नेपाली डायस्पोरासँगको अन्तर्क्रिया तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागी भएपछि चुनावका बेला गरिएको सुशासनको प्रतिबद्धता कार्यान्वयन गर्न थालिएको बताए।

उनले २०६३ सालपछि भएका भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषयको अध्ययन र छानबिनका लागि कार्यदल गठन गरिएको जानकारी दिए। सरकार गठनपछि पुराना र ठूला भ्रष्टाचार काण्डहरूको अनुसन्धान प्रक्रिया अघि बढाइएको उनको भनाइ थियो।

मन्त्री खनालले लामो समयदेखि राज्य सञ्चालन गर्ने शक्तिहरूले प्रभावकारी शासन दिन नसकेको निष्कर्षका आधारमा आफूहरू सरकारमा सहभागी भएको उल्लेख गर्दै सेवा प्रवाहलाई सरल, छिटो र झन्झटरहित बनाउन प्रविधिमैत्री शासन प्रणालीमा जोड दिइएको बताए।

विदेशमा रहेका नेपाली नागरिकको समस्या समाधानलाई सहज बनाउन परराष्ट्र मन्त्रालयले ‘मोफा मित्र’ नामक एप सञ्चालनमा ल्याएको जानकारी दिँदै उनले विदेशमा समस्या परेमा उक्त एपमार्फत गुनासो दर्ता गर्न सकिने बताए। एपमार्फत प्राप्त गुनासोमा सम्बन्धित नेपाली दूतावाससँग तत्काल समन्वय गरी समाधान प्रक्रिया सुरु गरिने उनको भनाइ थियो।

सरकारले परिणाममुखी ढंगले काम गरिरहेको दाबी गर्दै मन्त्री खनालले निकट भविष्यमा नागरिकले प्रत्यक्ष रूपमा परिवर्तन अनुभूति गर्ने अपेक्षा व्यक्त